अहिलेका नेपाली गानामा प्राविधिक गुणस्तर पहिलेको भन्दा राम्रो पाइन्छ भने सुरिलो पना र शाब्दिक गहनता भने परालमा सियो खोजेको बराबर भैसक्यो भने पनि हुन्छ । हिप हप र रिमिक्स गीतहरु आफैंमा नराम्रा हैनन । क्षणिक मनोरन्जन अवश्य पाइन्छ । तर नारायण गोपाल र बच्चु कैलाशका स्वरलहरी, गोपाल योञ्जन र अम्बर गुरुङका सृजना अनि किरण खरेलका शब्दहरुसँग नवीन भट्टराइ र धीरज राइहरुको तुलना गर्न मिल्दैन । किनभने आजका नयाँ पुस्ताका संगीतकर्मीहरुको आफ्नै ठाउँ छ भने पुराना हस्तीहरुको अस्तीत्व अमीट छ ।
अहिलेको समयमा गल्ली गल्लीमा खुलेका स्टुडियो, बग्रेल्ती उम्रेका रेडियो र टेलिभिजन र भर्खरै लोकप्रियता जमाउन थालेको इन्टरनेट माध्यमहरु मार्फत नयाँ सर्जकहरुलाइ आफ्ना गीतहरु जनसमक्ष ल्याउन सजिलो भएको छ भने अर्को तर्फ यिनै सुविधाका कारणले सुर ताल केही पनि नलागेका कर्कश आवाजले भरिएका कर्णप्रदुषक गीतहरु पनि बजारमा छ्यासछ्यास्ती पाइने हुनाले यस्ता गीतहरुका बीचमा राम्रा गीतहरु केलाउने जिम्मा पनि आम संगीतप्रेमीहरु माथि नै आइपरेको छ ।
हिजोका दिनहरुमा भने रेडियो नेपाल र एकाध स्टुडियो बाहेक संगीतकर्मीहरुको पहुँचमा अरु माध्यम थिएनन । हुकुम प्रमाङ्गीका भरमा चल्ने रेडियो नेपालमा वरीष्ठ ओहोदामा बसेकाहरुको पाउ नमोली कनीष्ठ र नयाँ संगीतकर्मीहरुले गीत रेकर्ड गर्ने र ती गीत रेडियोमा बजाइ पाउने अवसर विरलै पाउँथे । यस्तै चाकडी गर्ने क्षमताको अभावमा कति राम्रा कलाकर्मीहरुलाइ शायद जनताले चिन्ने मौका पाएनन होला भने देशका कुना काप्चामा लुकेका कलाकारहरु शायद त्यतै बिलाए होलान ।
यसैले हिजो र आजको नेपाली संगीतमा राम्रो र नराम्रो पक्ष दुवै पाइन्छन । तर व्यक्तिगत रुपमा भने मलाइ चाहिं पुरानै गीतहरु मन पर्छ ।